Monday, January 23, 2017

म निदाएको छैन - मातृका पोखरेल


मोबाईलवाट भर्खरै प्राप्त खबर मेरा लागि खासै अप्रत्याशित थिएन । सरकार सुकुम्बासी बस्तीमा डोजर लगाउने योजना गरिरहेको जानकारी मलाई जिम्मेवार ठाउँवाट प्राप्त भैसकेको थियो ।
“यो कदम हाम्रो पार्टीको लागि अत्यन्तै घातक हुनेछ ।” मैले सूचना पाउने वित्तिक्कै प्रतिक्रिया दिएको थिएँ ।
“अब यो पार्टी हाम्रो रहेन । जनताको पार्टी रहेन ।” पार्टीका नेताहरुलाई चुनौती दिंदै भनेको थिएँ मैले ।
जिम्मेवार कमरेडहरु पनि मेरा कुराहरु प्रतिक्रियाविहीन भएर सुनिरहन्थे ।
दुई दिन अघिसम्म मैले कार्की बालाई हुनै सक्तैन भनेर फेरी विश्वास दिलाउने प्रयत्न गरेको थिएँ । तर आफ्नो कुरासंग म आफै पनि विश्वस्त थिइँन ।
लगातार मोबाईलको घन्टी बज्न थाल्यो । रजमान गुर्मछान, सरला कार्की, हरिदेव चौधरी, सुवास आले, आदि धेरै साथीहरुको फोनमा घन्टी बजेको बजेकै ग¥यो । लगातर घन्टी बज्न थालेपछि मोबार्इृललाई साईलेन्टमा राखें ।
रेडियो खोलें । एफ.एम. हरुले बागमतीको सुकुम्बासी बस्तीलाई सरकारले डोजर लगाएर भत्काइरहेको छ भनेर समाचार प्रसारण गरिरहेका थिए ।
फेरि ओछ्यानमा गएर पल्टिएँ । पल्टिनु मात्रै न हो । हिजोको नरम लाग्ने ओछ्यान पनि काँडैकाँडाले विझाए जस्तै भयो । शरीरमा चिटचिट पसिना आए जस्तो लाग्यो । फेरि उठें । मोबाइलको स्क्रिन हेरेँ । सुकुम्बासी टोलका कमरेडहरुले गर्नुभएका मोबाइल कलहरुको लिस्ट धेरै लामो भइसकेको रहेछ ।
पार्टी शान्तिप्रक्रियामा आएपछि सुकुम्बासीहरुको व्यवस्थापन ठूलो चुनौतीको रुपमा हाम्रा अघिल्तिर आयो । देशैभरि थियो यो समस्या । काठमाण्डौभित्रका सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने जिम्मेवारीसहित पार्टीले मेरो नेतृत्वमा एउटा टिम वनाइदियो । हाम्रा लागि यो काम कम चुनौतीपूर्ण थिएन । पार्टीमा संगठित भएका केही सुकुम्वासी कमरेडहरुको सहयोगमा हामीले वास्तविक सुकुमवासीहरुको लगत लिन थाल्यौं । सुकुम्वासीहरुको अवस्था धेरै विकराल थियो । काठमाडौंका धेरै सरकारी जग्गाहरुमा सुकुम्वासीकै नाममा धनाढ्यहरुले कब्जा गरेर वसेका थिए । सरकारी उच्च ओहोदाका कर्मचारीहरु मात्र नभएर उच्च राजनीतिक प्रभावका आधारमा सरकारी जग्गा ओगटेर वसेका गैरसुकुम्वासीहरुको संख्या पनि प्रशस्तै थियो ।
पार्टीले हामीलाई दिएको जिम्मेवारीलाई सहयोग गर्ने साथीहरु पनि प्रशस्तै थिए । वास्तविक सुकुम्वासीहरुको समूहभित्र प्रवेश गरेपछि हामीले एउटा वेग्लै संसारमा प्रवेश गरेको वोध ग¥यौं ।
सुकुम्बासी टोलभित्रै सुकुम्बासी र गैरसुकुम्वासीहरुको वीचमा ध्रुविकरण भएको थियो । वास्तविक सुकुम्वासीहरुलाई हामीले राम्ररी साथ दिएका थियौं । उनीहरुको पनि हामीप्रति राम्रो भरोसा र विशवास थियो । सुकुम्बासी टोलभित्रका गैर सुकुम्वासीहरुले हाम्रो विरुद्धमा विभिन्न षडयन्त्रहरु गर्न थालेका सूचना हामीलाई प्राप्त हुन थालेको थियो । वास्तविक सुकुम्वासीहरुको एकताले गैरसुकुम्वासीहरु कमजोर भैरहेका थिए ।
मानिसहरु सुकुमवासी जीवनमा रुपान्तरित हुनुका पछाडि थुप्रे कारणहरु हुन्थे । राम्रैसंग एक मानु खान पु¥याउनेहरु पनि पारिवारिक दुर्घटनाका कारणले यहाँ आइपुग्थे ।
वागमती किनारका सुकुम्बासीहरुसंगकाृ सहकार्यका कारण देशैभरि छरिएर रहेका सुकुम्बासीहरुसँगको सम्पर्क वढ्दै गयोे । एक प्रकारले भन्ने हो भने वास्तविक सुकुम्वासीहरुको नेतृत्व हाम्रो पार्टी लिन सफल भएको थियो । यसैमा हामी गौरव गथ्र्यौं ।

००
म बागमतीको पुलमाथि पुग्दा प्रहरी र सुकुम्बासीहरुको वीचमा भिडन्त भइरहेको थियो । प्रहरी ज्यादतीले सीमा नाघिरहेको थियो । परैवाट देखें — कमरेड सरलाको सानो छोरो वच्चाहरुको एउटा समूह वनाएर डोजरमा ढुंगा हान्दै थियो । पुलिसहरु के बच्चा के बुढापाका, केही नभनी लाठी वर्साइ रहेका थिए र तिनीहरुले क्रूरतापूर्वक घर—टहराका सामानहरु वागमती नदीमा फ्याँकिरहेका थिए ।
एक निमेषमा देख्दादेख्दै मानिसहरुको ठूलो संख्या बेघरवार भयो । मसंग अन्तरसम्बन्ध भएका सवै कामरेडहरु बेघरवार भएका थिए । भित्रैदेखि मन जोडिएका मान्छेहरुलाई परेको चोटले कति पोल्दो रहेछ भन्ने कुराको अनुभूति पनि मैले पहिलो पटक आजै गरें । आफ्नै पार्टी सरकारमा छ । उनीहरुले यो बारेमा मसंग छलफल गर्दा झनै पींडा थपिएको महसुस हुन्छ ।
“म तपाईहरुसंगै छु र हुनेछु ।” यति मात्र उत्तर दिएर उनीहरुको गहिरो पींडामा मलम लगाउने प्रयत्न गरिरहेको छु ।
सक्नेले अलिअलि आफ्ना मालसामानहरु उठाए । नसक्नेले त्यो पनि गर्न भ्याएनन् । पार्टी र सरकारले भयंकर गलत निर्णय लियो । यो घटनाले जनता र हाम्रो पार्टीको दूरी निकै लामो भएको छ ।
“वास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र वागमती किनारका सुकुम्वासीहरु उठाउनुपर्छ ।” पार्टी कमिटीका तर्फवाट हामीले वारम्बार पार्टी नेतृत्व र सरकारलाई आग्रह गरेका थियौं ।
भत्किएको टहरोमा केही भेटिन्छ कि भनेर आफ्नो छोरालाई लिएर गएकी सरला मजेत्रोले आँसु पुछ्दै वागमती पुलतिर आँउदै थिइन । त्यसैगरी आ—आफ्ना वच्चाहरुसहित पोकोपन्तुरो बोकेर आउँदै थिए कार्की बा, रजमान गुर्मछान, हरिदेब चौधरी, सुवास आले लगायतका कमरेडहरु । यी सवै साथीहरुका अगाडि कसरी कुरा गर्ने ? मलाई फेरी अर्को पहाडले थिचेजस्तो महसुस भयो ।
पुलमास्तिरका मानिसहरुलाई प्रहरीले तितरवितर पार्दै थियो । म कमरेडहरुलाई भेटेर पुलको उत्तरी छेउतिर लागें । म उनहरुको पींडा छाम्ने उपयुक्त शब्द खोजिरहेको थिएँ । त्यतिमात्र होइन, म आफै पनि निराश थिएँ । आफै हिंडिरहेको अघिल्तिरको बाटोमा एउटा अजङको पहरो तेर्सिएको बोध भइरहेको थियो ।
कस्तो सपना साँचेर हिंडियो । आफ्नो यात्राप्रति कत्रो विश्वास थियो । तर आफ्नै अगाडि चकनाचूर भएर फुटेको सिसा झैं सपना फुटिरहेको थियो ।
मलाई थाहा छ, सरलाको बस्ने ठाउँ कतै छैन । रामेछापमै हुर्केबढेकी मान्छे । बावुआमाको अनुहारसम्म नदेखेकी टुहुरी । सानै हँदा काकाकाकीहरुले सौता भएको घरमा एउटा अधबैंशे लोग्ने मान्छे खोजेर दिए । विवाह गरेर गएको घर उनको लागि एउटा यातनागृहभन्दा फरक भएन । गलैंचा काराखानामा काम गरौंला भन्दै केही वर्षअघि लोग्नेले काठमाण्डौ लिएर आए । साथमा दुई जना ससाना बच्चा थिए । एक दिन एकाबिहानै उनको लोग्ने उनीहरुलाई छोडेर वेपत्ता भए । उनले केही दिनसम्म आफ्नो गच्छेले भ्याएसम्म लोग्ने खोजिन् । उनले पछि कुरा बुझिन्—आफुलाई टाढा बनाउनके लागि उनको लोग्नेले काठमाण्डौ ल्याएर यो सब नाटक गरेका रहेछन् ।
केही दिन त काठमाण्डौका सडक र गल्लीहरुमा माग्दै हिँडिन् उनी । एक दिन माग्दै हिँडदा म चावेलको गणेशथाननेर एक जना गाउँले दिदीसंग भेट भयो । दिदीले आफुजस्तै गिट्टी कुटेर खाने सल्लाह दिइन् । मागेर खान उनलाई पनि पटक्कै मन थिएन । उनी पनि दिदीलाई पछ्याउँदै बल्खु किनारमा कर्म खोज्न गइन् ।
गएकै वर्ष खोलामा जेठो छोरो डुबेर म¥यो । त्यसपछि त उनलाई त्यस ठाउमा वस्न मनै लागेन । तर के गर्ने ? बाध्यतैवाध्यताले डोरिएको जीवन उनको इच्छाअनुसार चल्ने कुरै थिएन । दुई वर्षजति बल्खु खोलामै गिट्टी कुटेपछि एक दिन उनले बागमती किनारमा टहरो हालेर वस्न पाइन्छ भन्ने गाँइगुइँ हल्ला सुनिन् ।
गिट्टी कुट्ने साथीहरुसंगै पछि लागेर सरला बागमती किनारको सुकुम्वासी बस्तीमा आइपुगेकी थिइन् ।
कमरेड सरला छोराको हात समातेर म नजिकै आइन् र एकतमासले मलाई हेरिन् । सरला र मैले थापाथली पुलमा उभिएर फेरि एक पटक सुकुम्वासी बस्तीतिर हेरेर सायद उनले आफ्नो जीवनको घाउ कोट्याइन् होली । पाप्रा वसिसकेको घाउ फेरी उप्किएर त्याहाँवाट ह्वाल्ह्वाल्ती रगत बगिरहेको होला । उनको अनुहार पढेर यस्तैयस्तै अनुमान गरें ।
बासविहीन कमरेडहरु केही नजिकका र केही टाढाका आफन्तहरुकहाँ जाने कुरा गरिरहेका थिए । कार्की बाले कुम्लो बोकेर रुँलाझैं गर्दै मलाई हेरे ।
“सरला कमरेड हिंडनुस, तपाई हाम्रै कोठामा जाउँ ।” सरलाको आश्रय लिने ठाउँ कतै छैन भन्ने मलाई थाहा थियो ।
मैले सरलातिर फर्केर हेरें । बाग्मतीको पानीमा उनको आँसुका थोपाहरु खसेर कतै हराईरहेका थिए ।
“म कहिले पनि नरुने मान्छे हुँ कमरेड! तर आज ……..।” हत्केलाले आँसु पुछ्दै भनिन् उनले ।
सरलाका खुसी र दुखका दुवै अवस्थालाई मैले नजिकैवाट हेरिरहेको थिएँ ।उनी पहिलोपटक पार्टीको सम्पर्कमा आएपछि विछट्टै खुसी भएकी थिइन् ।
“आजदेखि मलाई नयाँ जीवन प्राप्त भयो जस्तो लागेको छ ।” पार्टी सदस्यता पाएको दिन उनले कार्यक्रममा उत्साहित हुँदै भनेकी थिइन् ।
त्यही मान्छे यता छोटो अवधिमा आज फेरी भन्दै छिन् —“कमरेड ! अवचाँही मैले आफु साँच्चै हारेको महसुस गरें ।”
म निरुत्तर उनको कुरा सुन्दै बाटोमा हिंडिरहेको थिएँ र आफै हिंडेको वाटोसँग आफैलाई अविश्वास पैदा भइरहेको थियो ।

००
सरला र उनको सात वर्षको छोरो शिवहरि पल्लो भान्साकोठामा सुतेका छन् । वीचमा प्लाईउडले वारेको छ । यतापट्टिको कोठामा हामी परिवार सुतेका छौं ।
“आमा ! तपाईं त अब हामीले पहिलेको जस्तो अन्याय सहनु पर्दैन भन्नु हुन्थ्यो त ।” शिवहरिले सरलालाई सोधेको आवाज रातको सन्नाटालाई चिर्दै ्हामीसम्म आइपुग्यो । मेरी पत्नी सरिता पनि त्यो आवाज सुन्न झक झक्याउँदै थिइन् ।
“म निदाएको छैन ।” मैलै सरिताको कानमा खुसुक्क भने ।
यो घटनाले मभित्र विभिन्न प्रश्नहरु खेलिरहेका थिए । मलाई पनि आज रातभरि निद्रा आएन ।

000